काठमाडौं । राधाजनीमा जारी एसिसी प्रिमियर कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले कतारविरुद्ध टस हारेर ब्याटिङको मौका पाएको छ । नेपाल र कतारबीचको खेल ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो ।
अपराजित रहेको नेपाली टोली कतारविरुद्ध पनि सहज जितको खोजीमा छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।
यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।
समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।

आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।
नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।
यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।
