27 C
Munich

साउदी अरबसँग ११ वर्षपछि मूलपानीमा भएको नेपालको भेट ! पराजित गरे सेमिफाइनलमा

धेरै पढिएको

काठमाडौं, ऐतिहासिक एसिया कप छनोटको लक्ष्यसहित एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार साउदी अरबको आतिथ्य गर्दा लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

समूह ए बाट पहिलो खेलमा मलेसिया र दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ओमानमाथि सहज विजय निकालेको नेपाल टिमले साउदी अरबलाई पराजित गरे समूहमा एक खेल बाँकी रहँदै सेमिफाइनलमा स्थान बनाउनेछ ।

सोमबारको खेल नेपालका लागि फरक परिवेश र नयाँ विपक्षीसँग हुँदैछ । नेपालले मूलपानी मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नयाँ विपक्षी यसअर्थमा कि नेपालले साउदी अरबसँग ११ वर्षपछि एकदिवसीय क्रिकेट खेल्दैछ । यसबीचमा दुवै टिममा व्यापक पुस्तान्तरण भइसकेको छ ।

पछिल्लोपल्ट सन् २०१२ को अक्टोबरमा एसीसी ट्रफीअन्तर्गत नेपालले समूह चरणमा साउदी अरबसँग खेलेको थियो । त्यो खेलमा १३२ रनको लक्ष्य पछ्याएको नेपाललाई १३।१ ओभरमै जिताउन तत्कालीन उपकप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । १८ बलमा अर्धशतक पूरा गरेका उनले २३ बलमा अविजित ६१ रन बनाएका थिए । उनले दशौं ओभरमा साउदीका बलर नदिम जावेदलाई लगातार ६ चौका प्रहार गरेका थिए ।

त्यसयता एकदिवसीयमा नेपाल र साउदीको भेट भएको छैन । तर अहिले साउदी टिममा त्यतिबेला खेलेका कुनै पनि खेलाडी छैनन् भने नेपाल टिममा ज्ञानेन्द्र मल्लमात्र बाँकी छन् । त्यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एफिलियटेड मेम्बर रहेको साउदी अहिले एसोसियट मेम्बर छ ।

एसीसी प्रिमियर कपकै लागि अन्तर्राष्ट्रिय मापदण्ड सुहाउँदो गरी स्तरोन्नत्ति गरिएको मूलपानी (माथिल्लो) मैदानमा विकेट (पीच) र आउडफिल्डमा विशेष ध्यान दिइएको छ । विकेटमा बाउन्स र बल टर्निङको समस्या समाधान तथा क्वीक आउटफिल्ड (मैदान) निर्माणका लागि दुई महिनादेखि बंगलादेशी क्युरेटर अब्दुल मलमामुमको प्रयास सफल भएको छ ।

मूलपानीमा यही प्रतियोगितामा यसअघि ६ खेल भइसकेका छन् । साउदी अरबले ७ वैशाखमा मूलपानीमा मलेसियासँग खेलेको थियो । नेपालले भने यो मैदानमा पहिलो खेल खेल्दैछ । खराव विकेटका कारण मूलपानी मैदानमा रन बनाउन कठिन हुने समस्या यसपल्ट धेरै हदसम्म समाधान भएको छ । पछिल्ला ६ मध्ये ४ खेलमा २३० भन्दा माथिको स्कोर बनिरहेको छ ।

घरेलु मैदानमा खेलिएको पछिल्लो १२ एकदिवसीय खेलमा शतप्रतिशत जित हासिल गरेको नेपाल टिम पछिल्लो दुई महिनादेखि उच्च लयमा छ । नेपालले गत महिना आईसीसी क्रिकेट विश्वकप लिग टूको शीर्ष तीनमा रहँदै विश्वकप छनोटसम्मको रोमान्चक यात्रा तय गरेको थियो ।

गत माघ अन्तिम साता भारतीय प्रशिक्षक मोन्टी देशाईले टिम सम्हालेयता बलिङ र ब्याटिङमा नेपालको डरविहीन प्रदर्शन छ । यसमा उनको बल बाई बल र ह्याप्पी ड्रेसिङ रुमको रणनीतिमा नेपालले लगातार जितिरहेको छ ।

नेपालले यो प्रतियोगितामा पहिलो खेल मलेसियालाई ६ विकेट र दोस्रो खेल ओमानलाई ८४ रनले हराएको छ । दुवै खेल त्रिवि मैदान कीर्तिपुरमा खेलिएको थियो । नेपालको ब्याटिङतर्फ ओपनिङ समस्या यो प्रतियोगितामा पनि समाधान हुन सकेको छैन । यद्यपि मध्यक्रममा भीम सार्की र कुशल मल्लको प्रदर्शन शानदार छ ।

मलेसियाविरुद्ध भीम र कुशल दुवैले अर्धशतकीय योगदान गरेका थिए भने चौथो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा ओमानविरुद्ध कुशलले कीर्तिमानी शतक बनाएका थिए । उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक छिटो ५९ बलमा शतक पूरा गरेका थिए । ६४ बलमा १०८ रन बनाउने क्रममा ९ चौका र १० छक्का प्रहार गरे ।

बलिङमा नेपालको प्रमुख हतियारका रुपमा रहेको स्पिन बलिङले प्रभाव देखाइरहेको छ । सन्दीप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले किफायती बलिङसँगै विकेट लिइरहेका छन् । ओमानसँगको खेलमार्फत थोरै खेलमा १०० एकदिवशीय अन्तर्राष्ट्रिय विकेटको विश्व कीर्तिमान राखेका सन्दीपले दुई खेलमा ६ विकेट लिइसकेका छन् ।

सुधारिएको साउदीमाथि नेपालको जितको अपेक्षा गर्न सकिन्छ तर, नेपालले त्यस्तै क्रिकेट खेल्नुपर्नेछ जस्तो पछिल्लो दुई महिनादेखि खेलिरहेको छ । प्रशिक्षक मोन्टीले साउदीसँगको खेलमा टिममा केहि परिवर्तन गर्नसक्छन् । बायाँहाते तीव्र बलर प्रतिश जिसी तथा शीर्ष क्रमका ब्याटर ज्ञानेन्द्र मल्लले यो प्रतियोगितामा अवसर पाएका छैनन् । प्रशिक्षक मोन्टीले साउदीसँग यी दुईलाई टिममा ल्याउनसक्ने सम्भावना छ ।

सन् १९९४ देखि २००० सम्म पाकिस्तानका लागि १३२ टेष्ट खेलेका तीव्र बलर कविर खानले दुई वर्षयता साउदी टिमको प्रशिक्षण गरिरहेका छन् । उनीसँग यसअघि दुईपल्ट अफगानिस्तान र एकपल्ट यूएईको प्रशिक्षण गरेको अनुभव छ ।

पछिल्लो समय पाकिस्तानलगायतका देशबाट स्तरीय खेलाडी भित्र्याएर एशोसिएट देशमध्ये उदीयमान छवि बनाउन सफल साउदीले दुई महिनाअघि थाइल्याण्डमा यही प्रतियोगिताको छनोटका रुपमा रहेको एसीसी च्यालेन्जर्स कपको उपाधि जितेको थियो । फाइनलमा बहराइनलाई १० विकेटले हराउँदा साउदीको लय बेजोड थियो ।

जारी प्रतियोगितामा आफ्नो पहिलो खेल मलेसियासँग ८ विकेटले पराजित भए पनि दोस्रो खेलमा शनिबार कतारमाथि ७ विकेटको शानदार जित रचेको थियो । उसका ओपनर अब्देल वाहिदले १०८ बलमा १२४ रनको शतकीय पारी खेलेका थिए भने अर्का ओपनर वाकर अल हुसेनले ५५ रनको अर्धशतकीय योगदान गरेका थिए । यी दुईले ११८ रनको सुरुवाती साझेदारी गरेसँगै २१७ रनको लक्ष्य साउदीले ३४।२ ओभरमै पूरा गरेको थियो ।

जितपछि साउदीका कप्तान हिसाम शेखले आफ्नो टिममा प्रतिभाको खाँचो नभएको बताएका थिए । उनले एकपछि अर्को खेलमा रणनीति प्रदर्शन गर्ने भन्दै कुनै पनि विपक्षीलाई सहज नमान्ने दावी गरे । साथै नेपालसँगको खेलमा उल्लेख्य दर्शकअघि खेल्न आफूहरु उत्साहित रहेकोसमेत बताएका थिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर